९ बैशाख २०८२, मंगलवार

सांसद भण्डारीको नेपालमै उपचार गर्न आग्रह, स्वास्थ्यमन्त्री गिरी पुगे कीर्तिपुर अस्पताल

Kirtipur Hospital 1676519091

ग्यास सिलिन्डर विस्फोट हुँदा सिकिस्त घाइते भएका नेपाली कांग्रेस नेता एवं सांसद चन्द्र भण्डारीले आफूलाई नेपालमै उपचार गर्न चिकित्सकलाई आग्रह गरेका छन् ।

बुधबार राति भएको घटनामा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी सिकिस्त घाइते भएका छन् ।

कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालको सघन कक्षमा उपचाररत सांसद भण्डारीलाई अस्पतालले नेपालमा उपचार सहज नहुने भन्दै विदेश लैजान सिफारिस गरेको छ ।

चिकित्सकले विदेश लैजान भने पनि उनले भने नेपालमै उपचार गर्न आग्रह गरेका छन् । सांसद भण्डारी विदेश जान तयार नभएपछि अहिले चिकित्सक र परिवारका सदस्यबीच छलफल भइरहेको छ ।

आजै श्री एयरलाइन्सको जहाजमार्फत भारत लैजान भारतको जहाज नपर्खिने गरी छलफल भइरहेको जनाइएको छ ।

अहिले स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी अस्पताल पुगेका छन् । सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न मन्त्री गिरी अस्पताल पुगेका हुन् ।

यस्तै कांग्रेस महामन्त्री गगन थापालगायतका नेता पनि सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन् । अस्पताल परिसरमा नेता, कार्यकर्ताको भीड लागेको छ ।

    सम्बन्धित समाचार...