
कहिले बालकोट, कहिले बालुवाटार । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच तारन्तार वार्ता भएको भयै छ । दुई नेताबीच आज पनि बालकोटमा अढाइ घण्टा छलफल चल्यो । जबकि हिजो मात्रै बालुवाटारमा दुई घण्टा छलफल भएको थियो ।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ मा मनोयनन दर्ता गर्ने कार्यक्रम छ । चुनाव नजिकिँनै लाग्दा सत्ता गठबन्धन र प्रतिपक्ष दुबैले राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार छान्न सकेका छैनन् । पूर्वसहमतिअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने एमालेको अडान छ भने माओवादीले ‘साझा’ व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने अडान दोहोर्याइरहेको छ । दुई नेताको यही अडानका कारण सत्ता गठबन्धन नै टुट्ने संकेत देखिएको छ । तर, आज बालकोटमा ओलीसँगको छलफलपछि प्रधानमन्त्री दाहालले गठबन्धन नटुट्ने दाबी गरे ।
प्रधानमन्त्री दाहालले यस्तो दाबी गरिरहँदा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा सिंहदरबारमा कानूनविद्सँग परामर्श लिइरहेका थिए । सो छलफलपछि कांग्रेसका नेता रमेश लेखकले फागुन १० गते नै सत्ता गठबन्धन टुट्ने दाबी गरे ।
राष्ट्रपतिको निर्वाचनकै कारण सत्ता गठबन्धन टुट्छ या जोगिन्छ, यो एक साताभित्रै टुंगो लागिसक्ने विषय हो । तर, राष्ट्रपति जस्तो महत्त्वपूर्ण पदाधिकारीको छनोट गर्ने चुनावमा दलहरुले ढिलो उम्मेदवार तय गर्दा आम जनमानसमा भने राष्ट्र प्रमुखको छनोटबारे राष्ट्रिय बहस हुन पाएको छैन ।