९ बैशाख २०८२, मंगलवार

रिहा भए निलम्बित प्रतिनिधिसभा सदस्य चौधरी

ArunChaudhari 1676784769

राष्ट्रपतिबाट आममाफी पाएका नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी रिहा भएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर-२ बाट निर्वाचित चौधरी कैलाली कारागारबाट आज रिहा भएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा चौधरीसहित ३९५ जना कैदीको सजाय माफी गरेकी थिइन्। गृह मन्त्रालयको प्रस्तावपछि मन्त्रिपरिषद्ले चौधरीको बाँकी सजाय मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

आवश्यक प्रक्रिया पूरा गरेर चौधरीलाई रिहा गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए । कारागारबाट रिहा भएका उनलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलगायतले स्वागत गरेका छन् ।

गृहमन्त्रीसमेतको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहालले नै चौधरीको सजाय मिनाहाका लागि पहल गरेका थिए । उनकै प्रस्तावमा मन्त्रिपरिषद्को फागुन ४ को बैठकले चौधरीको बाँकी सजाय मिनाहाको सिफारिस गरेको हो । त्यसअघि गृहले चौधरीमाथि लागेको कसुरको अवस्थाबारे महान्यायाधिवक्ताको कार्यालयसँग राय मागेको थियो ।

महान्यायाधिवक्ता कार्यालयले आगजनीको कसुरमा बाँकी सजाय मिनाहा गर्न सकिने राय दिएपछि सरकारले निर्णय गरेर फाइल राष्ट्रपति कार्यालयमा पठाएको थियो ।

कैलालीको लम्कीमा २०६६ भदौ ३ मा भएको निजी सवारी आगजनीसम्बन्धी घटनामा चौधरीलाई जिल्ला अदालत कैलालीले दोषी ठहर गरी ६ महिना कैद र ८ लाख १९ हजार ४ सय २३ रुपैयाँ बिगो भराउन आदेश दिएको थियो । तर फैसला कार्यान्वयन नभएर प्रहरीको फरार सूचीमा रहेका उनी गत माघ १९ मा पक्राउ परेका थिए ।

    सम्बन्धित समाचार...