१६ बैशाख २०८२, मंगलवार

राष्ट्रपति निर्वाचनलाई लिएर भारतले सक्रियता बढाएसँगै चीन पनि सक्रिय

prachanda chen song china R2hIBKsp0p1677040336

राष्ट्रपति निर्वाचनलाई लिएर सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीच रस्साकस्सी चलिरहेको अवस्थामा नेपालका लागि चिनियाँ राजदूत छन् सङको पनि सक्रियता बढेको छ ।

यसक्रममा बुधबार बिहान राजदूत छन्ले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । काठमाडौं आएपछि राजदूत छन्ले प्रधानमन्त्री दाहालसँग भेट गरेको यो दोस्रो पटक हो । यसअघि माघ २ गते प्रधानमन्त्री दाहाल र राजदूत छन्बीच पहिलो भेटवार्ता भएको थियो ।

राजदूत छन्को पछिल्लो राजनीतिक सक्रियताले चीनले पनि राष्ट्रपति निर्वाचन सम्बन्धमा चासो राखेको देखिएको छ ।

राष्ट्रपति निर्वाचनको लागि फागुन १३ गते शनिबार मनोनयन दर्ता गर्ने समय तालिका छ । मनोनयन दर्ताको लागि दुई दिन बाँकी हुँदा राजदूत छन्ले प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयले भने राजदूत छन् बोआओ फोरमको निम्तो दिन बालुवाटार आएको जानकारी दिएको छ । आगामी चैत १४ देखि १७ गतेसम्म चीनको हैनान प्रान्तमा उक्त कार्यक्रम हुँदै छ ।

राजदूत छन्ले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि दुईपटक भेट गरिसकेका छन् । गत शुक्रबार बेलुकी राजदूत छन् र ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भएको थियो । सोही दिन प्रधानमन्त्री दाहालले ओलीसँग भेट गरेलगत्तै राजदूत छन् ओली निवास पुगेका थिए ।

राष्ट्रपति निर्वाचनलाई लिएर भारतले सक्रियता बढाएसँगै चीन पनि सक्रिय बनेको छ ।

भारतका विदेश सचिव विनयमोहन क्वात्रा यही फागुन १ गते नेपालको दुई दिने भ्रमणमा आएका थिए । उनले प्रधानमन्त्री दाहालका साथै एक दर्जनभन्दा बढी नेताहरुसँग भेटवार्ता गरेका थिए । त्यसअघि अमेरिकाका तीन वरिष्ठ अधिकारीहरुले नेपालको भ्रमण गरेका थिए । साथै बेलायत र युरोपेली संघबाट पनि भ्रमण भएको थियो ।

    सम्बन्धित समाचार...