८ बैशाख २०८२, सोमबार

दाहाल र ओलीबीच राष्ट्रपति चयनबारे निर्णायक छलफल हुने

Oli prachanda
फाइल फोटो

राष्ट्रपतिको चयनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज निर्णायक छलफल हुने भएको छ ।

राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिकै आधारमा गरिनुपर्ने अडानमा रहँदै आएका प्रधानमन्त्री दाहाल र यस अघिको सहमति अनुसार आफ्नो पार्टीले राष्ट्रपति पाउनु पर्ने बताउँदै आएका ओलीबीच आज निर्णायक छलफल हुने बताइएको छ । भोलि राष्ट्रपति पदको निर्वाचनका लागि मनोनयन दर्ता गराउने दिन भए पनि भावी राष्ट्रपतिको रूपमा कसलाई अगाडी सार्ने भन्नेमा आजसम्म दलहरू प्रस्ट छैनन् ।

राष्ट्रपति उम्मेदवारको टुंगो लगाउन माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता निरन्तर छलफलमा छन् । नेपाली कांग्रेसले पनि राष्ट्रपति पदका लागि दाबी गर्दै आएको छ । त्यसका लागि कांग्रेसका शीर्ष नेताहरूले प्रधानमन्त्री दाहालसँगको भेटघाट बढाउँदै आएका छन् । यद्यपि राष्ट्रपतिको उम्मेदवार तय गर्न अझै सहमति जुट्न सकेको छैन ।

राष्ट्रपतिकै उम्मेदवारीका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितको टोली बालुवाटार पुगेको बताइएको छ । दाहालले बुधबार बताएअनुसार आज दिउँसो हुने भनिएको ‌ओली र दाहालबीचको छलफल भने कति बेला हुन्छ भन्ने समय भने तोकिएको छैन ।