
भोजपुरका उद्योगी व्यवसायीहरूको छाता संस्था उद्योग वाणिज्य संघ भोजपुरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई विभिन्न नौ बुँदे अवधारणा पत्र बुझाएको छ ।
संघका जिल्ला अध्यक्ष कर्ण मोक्तानले मन्त्री किराँतीलाई भोजपुर जिल्लाको संस्कृति, पर्यटन प्रवद्र्धन र विकासका लागि नौ बुँदे अवधारणा पत्र बुझाउनु भएको हो । आफूहरूले बुझाएको अवधारणा पत्रले जिल्लाको विकासमा टेवा पुग्ने अध्यक्ष मोक्तानको भनाई रहेको छ । सङ्घले मन्त्री किराँतीसँग राखेको मागहरूमा सदरमुकाममा रहेको सप्तधाराको जीर्णोद्धार तथा निर्माण, कैलाश डाँडामा बुद्ध पार्क निर्माण, सिद्धकाली मन्दिरको महादेव गुफा देखि टक्सार निस्कने गुफामार्ग अन्वेषण गरी सञ्चालन गर्नु पर्ने, मुन्दुम ट्रेल पर्यटनमैत्री सूचना तथा घरवास व्यवस्थापन रहेको छ ।
यस्तै अध्यक्ष मोक्तानले बुझाउनु भएको अन्य मागहरूमा जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्थानहरूको पहिचान तथा अभिलेखीकरण गरी पर्यटन क्षेत्र घोषणा गर्नु पर्ने, टक्सारमा बनेको पर्यटन सूचना केन्द्र सञ्चालन हुनु पर्ने, कृषि, जडीबुटी, पशुपालन र फलफूल उत्पादनलाई आधार मानेर पकेट क्षेत्र घोषणा गर्नु पर्ने, विभिन्न जातजातिका संस्कृति, भेषभुषा, खानपानलाई संरक्षण तथा प्रवद्र्धन गरी आन्तरिक तथा बाह्रय पर्यटनसँग जोडने, जिल्लामा उत्पादित सामाग्रीहरूको बजारीकरणका लागि पिखुजा करिडोर हुँदै सुनसरीको चतरा जोडने सडकको निर्माण गर्ने, उद्योगी व्यवसायीहरूलाई व्यवसायीक कर्जामा ५ प्रतिशत गर्ने नीतिगत व्यवस्था गरिनु पर्ने लगायतका रहेका छन् ।
सो क्रममा उद्योगी व्यवसायीहरूले राखेका मागका विषयमा बोल्दै मन्त्री किराँतीले आर्थिक विकासको मेरुदण्ड पर्यटन भएको पनि बताउनुभयो । नेपालीपनको पर्यटन नेपालमा हुनुपर्छ,’ मन्त्री किराँतीले भन्नुभयो, “अरू देशको फोटोकपी गर्नु हुँदैन, प्राकृतिक सम्पदा र मानव सम्पदाको समायोजनबाट नेपाली विशेषताको पर्यटन हुन्छ ।” यसका लागि सबै पक्ष मिलेर अगाडी बढ्न जरुरी छ ।
“गृह जिल्ला भोजपुर आउनु भएको समयमा जिल्लाका उद्योगी व्यवसायीहरूले राखेका मागका विषयमा अन्तरक्रिया समेत गरेर संस्कृति मन्त्रीलाई अवधारणा पत्र बुझाएका छौ, यसको कार्यान्वयनले जिल्लाको विकासमा समेत टेवा पुग्ने विश्वास हामीले लिएका छौ ।” उद्योग वाणिज्य संघका अध्यक्ष मोक्तानले भन्नुभयो ।