१० बैशाख २०८२, बुधबार

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्न प्रधानमन्त्री सकारात्मक : प्रकाशशरण महत

Prakashsharan Mahat

नेपाली कांग्रेसका सांसद एवं प्रवक्ता डा.प्रकाशशरण महतले नेपाली कांग्रेसको उम्मेदवारलाई सघाउने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक रहेको जानकारी दिएका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्न आज बिहानको चार दलीय बैठक सकारात्मकरुपले अगाडि बढेको बताए ।

‘छलफल राष्ट्रपतिकै विषयमा हो । राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई अन्य दलहरुले सहयोग गरुन् भन्ने नै हाम्रो अपेक्षा हो । त्यसमा प्रधानमन्त्रीको पनि सकारात्मक कुरा नै थियो,’ उनले भने, ‘अन्य दलहरुले पनि सकारात्मक कुरा नै गर्नुभएको छ । त्यसै सिलसिलामा पनि छलफल भएको छ, बेलुका पनि छलफल हुँदैछ । आज बेलुकासम्म त्यहाँबाट एउटा निष्कर्ष निस्किन्छ ।’

राष्ट्रपतिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रस्ताव आए पनि कांग्रेसबाटै उम्मेदवार हुनुपर्ने आफूहरूको अडान रहेको उनको भनाइ छ ।

आज बिहान बालुवाटारमा राष्ट्रपति उम्मेदवारका विषयमा छलफल गर्न माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीसहितको चार दलीय बैठक बसेको थियो ।

    सम्बन्धित समाचार...