
तेह्रथुमको आठराई गाउँपालिका – ६ चुहानडाँडाको हातिखर्कमा भीषण आगलागीबाट ७ घर जेलेर नष्ट भएका छन् । आगलागीबाट ठूलो क्षति भएको प्रहरीले जनाएको छ । सो क्षेत्रमा अहिले पनि भीषण आगलागी भइरहेको छ ।
आगलागीबाट हालसम्म ७ वटा घर जलेर नष्ट भएको आगो नियन्त्रणमा खटिएका चुहानडाँडा प्रहरी चौकीका प्रमुख असई बिष्णुप्रसाद पिठाकोटेले जानकारी दिए ।
आज अपराह्न गाउँको पुछारमा रहेको फक्चुवा खोला दोभानको जंगलबाट सल्किएको आगो गाउँको बीचमा रहेको माझीटार सामुदायिक वनमा सल्किएको थियो । उक्त आगो हात्तिखर्क गाउँको बस्तीमा पसेर ठूलो क्षति भएको प्रहरीले जनाएको छ । आगलागीमा परी अहिलेसम्म फुसका छाना भएका ७ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
अहिले प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् । सुख्खा मौसम भएकाले आगो निभाउन समस्या भएको वडाअध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिए ।
पानीसमेत नभएकाले स्याउलाको मद्धतले आगो निभाउने कार्य भइरहेको स्थानीय बासिन्दाले बताएका छन् । सबै जना आगो निभाउने कार्यमा खटिकाले आगलागी पीडितको विवरण लिन केही समय लाग्ने असई पिठाकोटेले बताए । आगलागीको कारण खुल्न सकेको छैन ।