
पर्वतको कुश्मा नगरपालिका-३ दुर्लुङमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ । पहिरोमा परी ६ जना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
शनिबार साँझदेखि भएको भीषण वर्षाका कारण दुर्लुङको काफलचौर स्थित सरुनचौर भन्ने ठाउँमा पहिरोले ३ घर पुरेको हो।
पहिरोमा परी मृत्यु हुनेमा कुश्मा- ३ काफलचौरका ५२ वर्षीय तुल बहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया नीलकुमारी थापा र उनकी नातिनी ८ वर्षीय बिबिसा थापा रहेको प्रहरीले जनाएको छ ।
पहिरोमा परी तुलबहादुरका छोरा र छोरीतर्फका २ नाति बेपत्ता रहेका छन्।
उक्त पहिरोमा परी दुईवटा घर पुरिए छन् भने एउटा घरमा क्षति पुगेको छ । शनिबार साँझदेखि परेको वर्षाका कारण राति ९: ०५ बजे अचानक पहिरो गएको थियो ।
अहिले जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीको कमाण्डमा खटिएको १५ जनाको टोली, नेपाली सेनाको सेनानिको कमाण्डमा १५ जना र ससस्त्र प्रहरी बलबाट प्रहरी निरीक्षकको कमाण्डमा १५ जनाको सयुक्त टोली खटिएर उद्धार कार्य भइरहेको जनाइएको छ ।