
एक नम्बर प्रदेशको नामकरण चाँडो गर्ने बताइए पनि अहिलेसम्म यो विषयले एक नम्बर प्रदेशसभामा प्रवेशै पाएको छैन । कतिसम्म भने प्रदेशको नाम राख्ने विषयमा दलहरूबीच औपचारिक संवादसमेत भएको छैन ।
एक नम्बर प्रदेश सभाले प्रदेशको नाम नै नराखी पहिलो कार्यकाल बितायो । दोस्रो कार्यकालको प्रदेश सभा सदस्य हुँदै मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले पदभार ग्रहण गरेकै दिन प्रदेशको नामकरणलाई उच्च प्राथमिकतामा राखेर चाँडै नाम राख्ने बताएका थिए । त्यसपछि पनि पटक पटक मुख्यमन्त्री कार्कीले प्रदेशको नामकरणलाई उच्च प्राथमिकतामा राखेको बताउँदै आएका छन् ।
पुस १७ गते पहिलो बैठक बसेको एक नम्बर प्रदेश सभाका हरेक बैठकमा प्रदेशको नामकरणको विषय उठ्ने गरेको छ । प्रतिपक्ष दल मात्र होइन सत्तारूढ दलका प्रदेश सभा सदस्यहरूलेसमेत नामकरणको विषयलाई प्राथमिकताका साथ हरेक बैठकमा उठाउँदै आएका छन् ।
प्रदेशसभा सदस्यहरूले चालु अधिवेशनमा प्रदेशको नाम राखेर मात्र अधिवेशन अन्त्य गर्न माग गर्दै आएका छन् ।
प्रदेशसभा सदस्य, सभामुख, मुख्यमन्त्रीसहित मन्त्री परिषद्का सदस्य लगायत सबैले प्रदेशको नामकरणको विषय चाँडो टुङ्ग्याउने बताए पनि नामकरणको विषयले प्रदेशसभामा प्रवेश नै पाएको छैन ।
प्रदेश सभाको बैठक सुरु भएको दुई महिना हुन लाग्दा समेत नामकरणको विषय प्रदेश सभामा मात्र होइन दलहरूबीचको औपचारिक संवादमासमेत प्रवेश नपाउनुले चालु अधिवेशनमा प्रदेशले नाम पाउँछ भन्ने कुरामा आशङ्का बढेको छ ।