
स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्यकर्मीलाई एक वर्षका लागि कार्य सम्पादनको तयारी गरेर काम गर्न आग्रह गरेका छन् । सोमबार परेको स्वास्थ्य सेवा दिवसको अवसर पारेर राजधानीमा आयोजित कार्यक्रममा उनले कर्मचारीलाई बिना भय, तनाव र डरका साथ आफ्ना प्राथमिकतालाई उच्च स्थान दिएर काम गर्न आग्रह गरेका हुन् ।
उनले त्यसका लागि कार्यसम्पादन बनाउनुपर्ने उनको जोड थियो । ‘एक वर्षसम्म कसैले पनि विना आग्रह र पूर्वाग्रह काम गर्नुहोला । पहिलो चार महिना तपाईहरू सचेत भएर काम गर्नुहुनेछ, किनकी तपाईंहरुले कार्य सम्पादन बनाउनुभएको छ’, उनले भने, ‘त्यसका आधारमा तपाईंले कामको मूल्याङ्कन गर्नुहुन्छ । काम राम्रो गर्नुभयो भने अझै अगाडि बढ्नका लागि सरकारबाट तपाईंलाई सहयोग हुनेछ । तपाईंहरुले सक्नुभएन भने तपाईंले ‘सकिनँ’ भन्नुपर्यो । त्यसको जिम्मेवारी आफैंले लिनुपर्यो ।’
उनले नेपालको स्वास्थ्य क्षेत्रमा इतिहासकै युगान्तकारी परिवर्तन आउने विश्वास व्यक्त गर्दै त्यसका लागि साहसका साथ काम गर्न आव्हान गरे । ‘तपाईंहरुले आ–आफ्नो ठाउँमा महत्वपूर्ण जिम्मेवारीहरु लिनुभएको छ । हामी सबैले आजको दिवसको दिनलाई एउटा संकल्प बनाउने जमर्को गरौं । कि हामी यहाँ नेपालमा स्वास्थ्य क्षेत्रमा एक युगान्तकारी परिवर्तन ल्याउँछौं’, उनले भने, ‘हामी एकापसमा हातेमालो गरेर एकताबद्ध भएर यो कामलाई सफल बनाउन सक्छौं भन्ने संकल्प लिएर अगाडि बढ्यौं भने त्यो सन्दर्भमा स्वास्थ्य सेवा दिवस सफल भएको मान्न सकिन्छ ।’
उनले स्वास्थ्यकर्मीलाई सेवा सुविधा दिने विषयमा सरकारले चासो देखाइरहेको उल्लेख गर्दै अहिले जनताको रोग निवारणको काममा लाग्न आव्हान गरे । ‘हामीले सेवासुविधादेखि अधिकारका बारेमा कुरा गरेका छौं । तर गरिब जनताले रोग पालेर बस्नुपरेको छ । अस्पतालमा आएर राम्रोसँग स्वास्थ्य सेवा पाएको छैन । जब जनताले हाम्रा लागि राज्य र राज्य संयन्त्र छ भन्ने अनुभुति गर्न पाउँदैन तबसम्म तपाईंहरु यो क्षेत्रमा लागेको कुनै अर्थ हुँदैन’, गिरीले भने ।
उनले आफ्नो लक्ष्य स्वास्थ्य क्षेत्रभित्र सुधार गर्नुपर्ने उल्लेख गर्दै स्वास्थ्य क्षेत्रको समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने सुझाव लिएर आउन आग्रह गरे । ‘झिनमसिना कुरा लिएर मेरो समय लिन आउनुहुन्छ भने त्यो कस्ट नगर्नुहोला । तर स्वास्थ्य क्षेत्रको समस्या समाधानका लागि सुझाव ल्याउनुहुन्छ भने म रातभरी समय दिनसक्छु’, उनले भने ।


