१३ बैशाख २०८२, शनिबार

ओलीको षडयन्त्र सफल हुन दिँदैनौंः महत

Prakash saran mahat
फाइल फोटो

नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अझै पनि धमिलो पानीमा माछा मार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

‘कसैको चाहनाले भोट क्रस हुने होइन । राष्ट्रपति निर्वाचनका मतदाता प्रदेशसभा, राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसद हुन् । रामचन्द्र पौडेल आठ दलीय गठबन्धनको साझा उम्मेदवार हो । त्यसबाहेक रास्वपा पनि सकारात्मक छ । केपी ओली अझै पनि भ्रम छरिरहनुभएको छ । पानीलाई धमिलो पारेर माछा मार्न खोजिरहनुभएको छ । केपी ओली वा अरु कसैले चाहँदैमा राष्ट्रपति निर्वाचनको परिणाममा फरक आउने म देख्दिनँ । त्यो षड्यन्त्र कदापि सफल हुँदैन,’ ‘नेपाली बहस’कार्यक्रमसँग संवाद गर्दै डा. महतले भने ।

आठ दलीय गठबन्धन अहिले मन्त्रालय बाँडफाँटभन्दा राष्ट्रपतिको निर्वाचनमा केन्द्रित भएको उनले बताए । डा. महतले थपे, ‘अहिले हामी राष्ट्रपति निर्वाचनमा केन्द्रित छौं । निर्वाचन सकिएपछि कुराकानी बिस्तारै अघि बढ्ला ।’

यतिखेर मन्त्रालयमा छिनाझप्टी गर्नुभन्दा पनि अर्थतन्त्रमा आएको संकट समाधानतर्फ केन्द्रित हुनुपर्ने पनि डा. महतले औंल्याए । उनले भने, ‘अब कनिका छर्ने खालको बजेट ल्याएर तथाकथित लोकप्रिय हुने कदम रोक्नुपर्छ । अर्थतन्त्रलाई ट्याकमा ल्याउनका लागि लगानीको परिवेश बनाउनुपर्छ । अहिले लगानी भएका ठाउँमा प्रतिफल कम छ । फजुल खर्चलाई निषेध गर्नुपर्छ । साधारण खर्च कम गर्नुपर्छ ।’

अर्को प्रसंगमा उनले संक्रमणकालीन न्यायलाई सत्य निरुपण र मेलमिलाप आयोगमार्फत निष्कर्षमा पुर्‍याउन सरकार लाग्नुपर्ने पनि औंल्याए । कांग्रेस प्रवक्ता डा. महतले सन्त नेता कृष्णप्रसाद भट्टराईको बाह्रौं स्मृति दिवसको पनि स्मरण गरे । उनले भने, ‘लोभ मोह केही नभएका किसुनजीजस्ता नेता बिरलै पाइन्छन् । देशले यस्ता सरल र इमानदार नेता खोजिरहन्छ । तर यस्तो नेता सधैं प्राप्त गर्दैन ।’

    सम्बन्धित समाचार...