
राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले आफू जित्नेमा आशावादी रहेको प्रतिक्रिया दिएका छन् ।
प्रतिनिधिसभा भवन नयाँ बानेश्वरमा राष्ट्रपति पदको निर्वाचनका लागि उपस्थित भएका नेकपा एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङले निर्वाचनमा उत्रिएपछि हारजित स्वभाविकै रहेको प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘हामी संविधानको कार्यान्वयनको चरणमा छौं । जनताको छोराछोरी राष्ट्रपति बन्ने मान्यता संविधानबाट स्थापित गरेको हुँदा आजको निर्वाचन सम्भव भएको हो ।’
उनले आफू निर्वाचनमा सफल हुने भन्दै आशावादी रहेको पनि जनाए । उनले भने, ‘निर्वाचनमा उत्रिएपछि हारजित स्वभाविकै हो । मलाई सम्पूर्ण सभासदहरुले मत दिनुहुन्छ भन्नेमा आशावादी छु ।’
तेस्रो राष्ट्रपतिका लागि कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुवास नेम्वाङ चुनावी मैदानमा छन् ।
राष्ट्रपतिका लागि फागुन १३ गते उमेदवारी मनोनय गरिएको थियो । आज (बिहीबार) मतदानका लागि बिहान १० देखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । संसद् भवन नयाँबानेश्वरमा अहिले मतदान भइरहेको छ ।
रामचन्द्र पौडेललाई सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमत पार्टी, एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन छ भने नेम्वाङको पक्षमा एमालेबाहेक अहिलेसम्म कुनै दल पनि दलको समर्थन छैन ।
निर्वाचन कार्यालयले चुनाव सकिएलगत्तै आजै मतगणना गर्ने तयारी गरेको छ । साँझ ७ बजेभित्रै मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनको परिणाम सार्वजनिक लगत्तै नयाँ राष्ट्रपतिलाई आजै प्रमाणपत्र प्रदान गरिनेछ ।