
नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ ।
एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन नसकिने जनाएका हुन् ।
प्रधानमन्त्री दाहाल इमानमा रहन नसकेका कारण विश्वासको मत दिन नसकिने ओलीको भनाइ छ । ‘प्रधानमन्त्री दाहाल राष्ट्रियहितको पक्षमा उभिनु भएन । नातावाद र कृपावादमा रमाउने चरित्र उहाँमा छ,’ उनले भने, गठबन्धनका स्वार्थीले दाहाललाई भोट देला हामी दिन्नौँ ।’
ओलीले प्रधानमन्त्री दाहाल राष्ट्रिय हितको लागि उभिने कि अरुका लागि कम्फरटेबल हुने भन्दै हेर्न बाँकी रहेको उल्लेख गरे । उनले यस अगाडिको गठबन्धन सरकारले ल्याएको साझा न्युनतम कार्यक्रम अहिलेको सरकारले फेर्न लागेको पनि आरोप लगाए । अहिलेको दश दलीय गठबन्धनले देशका लागि नभएर आफ्नो हितलाई हेरेर नियम कानुन बनाउन लागेको पनि ओलीको भनाइ छ ।
प्रधानमन्त्री दाहाल सत्ता टिकाउने खेलमा मात्रै केन्द्रित रहेको उल्लेख गर्दै ओलीले एमालेले सरकार छाडेपछि योजना विकास निर्माण अलपत्र परेको दाबी गरे ।
कम्युनिस्टहरु मिल्न नहुने पक्षमा प्रधानमन्त्री दाहाल रहेको बताउँदै ओलीले दाहाल जंगबहादुर शैलीको रहेको टिप्पणी गरे ।