
प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई वैशाखसम्म सरकारबाट हटिसक्ने दाबी गरेको जनाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै सोमबार उनले यस्तो जनाएका हुन् । नेकपा एमाले अध्यक्ष ओलीले वैशाखसम्ममा आफू नेकपा एमालेसँगै राष्ट्रपतिको बायाँपट्टि लबीमा आइपुग्ने दाबी गरेको उल्लेख गर्दै त्यसको निर्णयको जिम्मा सांसदहरुलाई छोडेको उनको भनाइ छ । ओलीको भनाइलाई पुष्टि गर्ने वा नगर्ने भन्ने निर्णय सांसदहरुमा छोडेको पनि दाहालले जनाए ।
‘त्यतिबेला उहाँले तपाईं वैशाखभन्दा उता जानुहुन्न भन्नुभएको छ । उहाँले भनेका वैशाखमा राष्ट्रपतिको बायाँपट्टि लबिमा तपाईं र म एकै ठाउँमा हुन्छौं भन्नुभएको छ । उहाँको भनाइलाई पुष्टि गर्ने कि हामीहरु सबैको हातमा छ,’ दाहालले भने ।
प्रधानमन्त्री दाहालले नेकपा एमाले अध्यक्ष ओलीलाई आफूले दुईपटक प्रधानमन्त्री बनाएकाले अझै एकपटक ओलीले आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्नुपर्ने दाबी गरे । उनले अझै एक प्रधानमन्त्री बनाएको ऋण तिर्न बाँकी रहेकाले त्यसको हिसाब राख्न आग्रह गरे ।
‘ओलीजीलाई मैले आभार व्यक्त गरेको छु तपाईंले मलाई प्रधानमन्त्री बनाउनुभयो भनेर । मैले तपाईंलाई दुईपटक प्रधानमन्त्री बनाएको थिएँ, तपाईंले मलाई ब्याज तिर्नुपर्ने थियो । ऋण तिर्नुपर्ने थियो । अझै एकपटक बाँकी छ । हिसाब राख्नुहोला,’ दाहालले भने ।
प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री बनाइदिनुस् भनेर बालकोट नगएको बरु एमालेले बारम्बार बोलाएपछि बालकोट पुगेको स्पष्ट पारे । दाहालले एजेन्डा नमिलेका कारण एमालेसँगको सहकार्य टुटाउनुपरेको दाबी गरे ।