
मर्स्याङ्दी नदीमा खसेर हराएका सशस्त्र प्रहरी जवान झन्डै तीन महिनापछि मृत फेला परेका छन् ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका-४, बिजुली कोटका ३२ वर्षीय अनन्त महतको शव आइतबार अपराह्न ४ बजे राइनास नगरपालिका-६ गौरीघाटस्थित मर्स्याङ्दी नदीमा फेला परेको प्रहरीले जनाएको छ ।
महत सशस्त्र प्रहरीको २२ नम्बर गण महेश्वरी भक्तपुरबाट सरुवा भएर मनाङ चामेस्थित ३२ नम्बर गुल्म हेडक्वार्टर जाँदै थिए । यात्राकै क्रममा गत पुस १४ गते साँझ मर्स्याङ्दी-४ काप्रेभीरमा पिसाब फेर्ने क्रममा लड्दा उनी नदीमा खसेका हुन् ।
त्यसयता सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उनको खोजी गरिरहेको थियो । आइतबार शव भेटिएपछि परिवारलाई खबर गर्दा शरीरको बनावट र अनुहारबाट परिवारका सदस्यले महतको पहिचान गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी प्रकाश श्रीमलले जानकारी दिए ।
महतको शव पोस्टमार्टम गरी परिवारलाई जिम्मा दिने तयारी गरेको प्रहरीले जनाएको छ ।