
बैंक तथा बित्तीय संस्था मंगलबार घोडेजात्राका दिन पनि खुल्ने भएको छ । घोडेजात्राका दिन अन्य सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहे पनि बैंक तथा बित्तीय संस्थाले भने सेवा सुचारु राख्ने भएको हो ।
नेपाल राष्ट्र बैंकले घोडेजात्राका दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा भए पनि उपत्यका बाहिर हुने कारोबार समेतलाई दृष्टिगत गर्दै बैंकिङ सेवा सञ्चालन राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकले सोमबार सूचना प्रकाशित गरी भोलि बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक–वित्तीय संस्थालाई निर्देशन दिएको जनाएको हो ।
“घोडेजात्राका दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा रहेता पनि उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, विद्युतीय चेक भुक्तानी (इसिसी), आरटिजिएसलगायतका आवश्यक बैंकिङ सेवा सञ्चालन राख्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ”, राष्ट्र बैंकले भनेको छ ।