९ बैशाख २०८२, मंगलवार

एमाले एक्लै हिँड्न सक्ने सिंह हो : अध्यक्ष ओली

oli kp
फाइल फोटो

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले ‘एक्लै हिँड्न सक्ने सिंह’ भएको बताएका छन् ।

एमालेविरूद्ध १० वटा दलहरूको गठबन्धनलाई स्यालहरूको समूहको संज्ञा दिँदै ओलीले एमाले एक्लै हिँड्न सक्ने सिंह भएको दाबी गरे । मिसन ग्रासरूट अभियानअन्तर्गत ४ दिनदेखि लुम्बिनीका विभिन्न जिल्लामा रहेका अध्यक्ष ओलीले मंगलबार पाल्पामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

“एमाले सिंह हो एक्लै हिँड्छ स्यालहरू हो हुलमा हिँड्ने, स्याल एक्दै हिँड्यो भने खतरा हुन्छ, सिंहलाई एक्लै भए पनि कसैले शिकार गर्ला कि भन्ने डर हुँदैन आफैँ शिकार खोज्दै हिँड्छ,” उनले भने । अध्यक्ष ओलीले एक्लै निर्वाचनमा होमिएको एमालेलाई पाल्पाका अधिकांश वडा, पालिका र क्षेत्रमा निर्वाचित गराएको भन्दै पाल्पाली जनतालाई धन्यवाद दिए ।

पूर्वप्रधानमन्त्री ओलीले नेपालमा दुई खालका शक्ति, विचार र उद्देश्यका बीचमा लडाइँ भइरहेको उल्लेख गर्दै एकातर्फ १० दल र अर्कोतर्फ एमाले एक्लो शक्ति भएको दाबी गरे । उनले नेपालमा बाहिरी शक्तिको चलखेलका कारण सरकारको स्थिरता र स्थायित्व हुन नसकेको बताए ।