
रुकुम पश्चिमको चौरजहारी हत्याकाण्ड सामूहिक हत्या रहेको र योजनाबद्ध रुपमा बाटोमा छेकेर भएको प्रहरीको निष्कर्ष छ ।
गत जेठ १० मा जाजरकोटको भेरी नगरपालिकाका नवराज १८ जनासहित प्रेमिका लिन चौरजहारी गएका थिए । सोही बेला केटी पक्षसँग झडप भएको थियो ।
घटनामा परी नवराज विक, टिकाराम नेपाली, गणेश बुढामगर, लोकेन्द्र सुनार, सजिव विक र गोविन्द शाहीको ज्यान गएको थियो। ६ जनाको ज्यान जाने गरी भएको सो घटना को कारण प्रहरी अनुसन्धानमा अन्तरजातिय प्रेम देखिएको हो।
घटनामा परी भेरी नगरपालिका ११ का गोविन्द शाही, जाजरकोटको भेरी नगरपालिका ४ रानागाउँका नवराज विक, चौरजहारी नगरपालिका १ का टीकाराम सुनार, भेरी नगरपालिका ४ का गणेश बुढा, लोकेन्द्र सुनार र सञ्जीव विकको शव भेरी नदीमा भेटिएको थियो ।
हत्याकाण्ड अनुसन्धान पश्चात गृह-मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै रुकुम पश्चिमको चौरजहारीमा भएको घटनालाई हत्या ठहर गरेको छ ।
गृह-मन्त्रालय द्वारा जारी विज्ञप्तिमा प्रतिवादिहरुले नवराज बि.क समेतका व्यक्तिहरुलाई लखेट्दै ल्याइ कुट्पिट गरेको जनाएको छ । त्यसैगरी मृतक तथा घाइतेहरुलाई छेका घेरा हाली ढुड़गा लाठी समेतले प्रहार गरेको जनाइएको छ ।
साथै वडा नं ८ का वडा अध्यक्ष समेतले प्रहरिलाई गुमराहमा राखी अर्को तर्फ पठाएको उल्लेख छ ।
घटना १० जेठमा घटे पनि १३ जेठमा पीडितले २० जनाविरुद्ध किटानी जाहेरी दिएपछि मात्रै प्रहरीले वडाध्यक्षसहित १२ जनालाई हिरासतमा लिएको थियो ।
अहिलेसम्म यो घटनामा २९ जना पक्राउ परेका छन् । गएको आइतरबार सरकारी वकिल कार्यालयले २९ जनालाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दर्ता भएको छ ।
मुद्दा दर्ता गराइएका ३४ जनामध्ये ५ जना फरार रहेका छन् भने बाँकी सबै पक्राउ परेका छन् । सो मुद्दामा युवती, उनका बुबा आमा, वडाध्यक्षसहित चौरजहारीका २९ जनालाई प्रतिवादी बनाइएको छ ।