
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार अदालतसमक्ष आत्मसमर्पण गर्ने भएका छन् ।
उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै कानुनी प्रतिवाद गर्ने चुनौती दिएका छन् । अदालतमा आत्मसमर्पण गरे पनि ट्रम्पलाई हतकडी भने लगाइने छैन ।
ट्रम्पका कानुनी सल्लाहकार जो ट्याकोपिनाले मंगलबार सुरक्षित रुपमा अदालतमा पुग्ने र उनीमाथि कुनै पनि किसिमको धरपकड नहुने र हथकडी नलगाइने बताएका छन् ।
सन् २०१६ को राष्ट्रपति चुनावका बेला पूर्वपोर्नस्टार स्ट्रोमी ड्यानियल्सलाई चुप लगाउन १ लाख ३० हजार अमेरिकी डलर दिएको आरोपमा ट्रम्पविरुद्ध न्यूयोर्कस्थित अदालतमा मुद्दा दर्ता भएको थियो ।
उनले ड्यानियल्सलाई दिएको रकमलाई कानुनी रूपमा स्पष्ट नखुलाई व्यापारिक प्रयोजनका लागि भनेर उल्लेख गरेको र उक्त कार्य न्युयोर्क राज्यको कानुनअनुसार गैरकानुनी रहेको पाइएपछि उनीविरुद्ध अदालतमा अभियोजन दर्ता भएको हो ।
अमेरिकाको कुनै पनि अदालतमा आपराधिक अभियोग दर्ता भएका उनी पहिलो पूर्वराष्ट्रपति हुन् ।