८ बैशाख २०८२, सोमबार

दैनिक ९ घण्टा अवरुद्ध हुने बुटवल–तानसेन सडक

butawal tansen sadak

सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक दैनिक ९ घण्टा अवरुद्ध हुने भएको छ ।

सिद्धबाबा सुरुङ मार्ग निर्माणको काम अघि बढेकाले मंगलबारदेखि दैनिक ९ घण्टा सडक बन्द हुने भएको हो । राजमार्ग सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो ।

निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकैको क्षेत्रमा सडक डाइभर्सनको कार्य सुरु गरेको र माथि पहराबाट खुकुला ढुंगाहरु खस्ने हुँदा सडक सञ्चालनमा जोखिम हुने भएकाले हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजे तथा रातको १० देखि बिहान ४ बजेसम्म सडक अवरुद्ध हुने आयोजनाले जनाएको छ ।

सडकमा एम्बुलेन्सलगायत अत्यावश्यकीय सवारी साधन सञ्चालनमा भने अवरोध नहुने जनाइएको छ ।

सुरुङ मार्गको पूर्व तयारीका लागि यसअघि फागुन १३ देखि २७ गतेसम्म दैनिक ८ घण्टा सडक बन्द गरिएको थियो । सिद्धबाबादेखि पाल्पातर्फ १ हजार १२६ मिटर लामो दुरीको सुरुङ मार्ग निर्माणका लागि ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

    सम्बन्धित समाचार...