
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका सचिव लेखराज भट्टबीच लामो समयपछि आज (आइतबार) भेट वार्ता भएको छ ।
धनगढी विमानस्थलबाट कञ्चनपुर जाने क्रममा प्रधानमन्त्री दाहाल अत्तरियास्थित भट्टको निवास पुगेका हुन् । भेटपछि फर्किने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले भने, ‘यो घर मेरो पनि हो यहाँ मेरो कोठा छ सधैं बस्ने-खाने-सुत्ने । यहाँ मेरो ४० वर्षदेखिको सम्बन्ध छ ।’
समसामयिक देशको परिस्थितिका विषयमा पनि आफूहरूबीच कुराकानी भएको दाहालले जनाए । अन्य विषयमा भने कुराकानी नभएको उनको भनाइ छ ।
एमाले सचिव लेखराज भट्टले आफूहरूको चालीस वर्षदेखिको सामान्य नभई चालिस वर्षदेखिको पारिवारिक सम्बन्ध भएको प्रतिक्रिया दिए । उनले समसामयिक राजनीतिक र पारिवारिक कुरा भएको जानकारी दिए । तर लामो समयदेखि पार्टीबाट अलग भएका कारण बोलचालसमेत बन्द भएका दुवै नेताको भेटलाई अर्थ पूर्ण रूपमा हेरिएको छ ।
