
तनहुँ १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लगेका छन् ।
आइतबार रातिदेखि भएको मतगणनामा बिहान १० बजेसम्मको मतपरिणामअनुसार वाग्लेले ९ हजार ९०२ मत प्राप्त गरेका छन् । उनका निकतटम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ४ हजार २१३ मत पाएका छन् । भट्टराईभन्दा वाग्ले ५ हजार ६८९ मतले अगाडि छन् ।
वाग्ले र भट्टराईलाई पछ्याइरहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ४३० मत प्राप्त गरेका छन् ।
एक लाख २३ हजार ३०५ मतदाता रहेको तनहुँ १ मा उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यस क्षेत्रमा ९ उम्मेदवार चुनावी मैदानमा छन् ।
दुई दिनभित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ । उपनिर्वाचन भएका बारा २ मा अहिले ११ बजेपछि मतगणना गर्ने तयारी गरिएको छ भने चितवन २ मा केहीबेरमा सर्वदलीय बैठक बस्ने र बैठकले गरेको निर्णयअनुसार अघि बढ्ने तयारी रहेको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले कान्तिपुर टेलिभिजनलाई जानकारी दिए ।