१० बैशाख २०८२, बुधबार

भोलि नै संसदीय सुनुवाइ समिति र विशेष समिति गठन

Devraj Ghimire sabhamukha
फाइल फोटो

राजनीतिक दलहरुबीच नेतृत्व भागबन्डामा सहमति जुटेसँगै सभामुख देवराज घिमिरेले संसदीय समिति गठनको तयारी थालेका छन् । सभामुखले भोलि नै संसदीय सुनुवाइ समिति र विशेष समिति गठन गर्न लागेका हुन् ।

संसद् बैठक सुरु भएको चार महिनापछि मात्रै संसदीय समिति गठन हुन लागेको हो ।

प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसहितका दलहरुले संसदीय समितिमा रहने सदस्यहरुको नाम भोलि सभामुखसमक्ष सिफारिस गर्नेछन् । लगत्तै सभामुखले समिति गठन गर्नेछन् । नेपाली कांग्रेसले समितिमा रहने सदस्यहरुको नाममा पार्टीभित्र करिब टुंगो लगाएको जनाएको छ । उसले सभामुखले भनेकै समयमा नाम दिने बताएको छ । अर्को सत्तारुढ एकीकृत समाजवादीले पनि सबैलाई मान्य हुने गरी समितिको नेतृत्व चयन गर्नुपर्ने बताएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले तीन समितिको नेतृत्व लिनेबारे टुंगो लगाए पनि पार्टीकोतर्फबाट कसले नेतृत्व गर्ने टुंगिन बाँकी रहेको जनाएको छ ।

दलहरुबीच भएको सहमतिअनुसार १० विषयगत समितिमध्ये नेपाली कांगेसले संसदीय सुनुवाइ विशेषसहित तीनवटाको नेतृत्व लिने छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन गठन हुने अर्को विशेष समितिको नेतृत्व पनि कांग्रेसले नै लिने आन्तरिक तयारी गरे पनि गठबन्धनभित्र कुरा मिल्न बाँकी छ ।

त्यसैगरी नेकपा एमालेले सार्वजनिक लेखासहित तीनवटा समिति, माओवादी केन्द्रले दुई, नेकपा एकीकृत समाजवादी एक र जसपाले एक समितिको नेतृत्व लिनेछन् ।

    सम्बन्धित समाचार...