
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले तीनवटै क्षेत्रको उपनिर्वाचनको परिणाम पहिले नै आकलन भइसकेको बताएका छन् ।
‘परिणाम त पहिले नै सबैलाई थाहा थियो नि । यो के नयाँ कुरा भयो र ? हिजो कांग्रेस, एमाले र माओवादीले पनि जितेका होइनन् र ? जनताले सिक्किमको लन्डुप दोर्जे र जर्मनको हिटलरलाई पनि जिताएका थिए । जनताले जिताउँदैमा ती सबै ठीक हुँदैनन् । कहिलेकाहीं जनता झुक्किन्छन् । बदला पनि लिन्छन् । छिटै जनताले बुझिहाल्छन् । जितेर आएका मानिस सबै ठीक हुन्छन् भनेर झुक्किनु पर्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’सँग संवाद गर्दै उनले भने ।
नेता केसीले बेलायत र अमेरिकामा तालिमप्राप्त नेताले मुलुकको कायापलट गर्छन् भन्ने भ्रम रहेको पनि औंल्याए । उनले भने, ‘संघीयताले मुलुकको ढाड भाँचेको छ । जनताले किन त्यही संघीयता स्वीकार्नेलाई भोट दिए ? जनताले रवि र स्वर्णिमलाई मन पराएको भन्दा पनि कांग्रेस र एमालेसँग बदला लिएका हुन् । टिकट नपाएर अर्को पार्टीमा पोइल जानेले स्वीटजरल्यान्ड या सिंगापुर बनाउँछन् त ? स्वर्णिम वाग्ले कहाँका भगवान् हुन् र ? तिनै अमेरिका, बेलायत र विश्व बैंकका प्रोडक्ट होइनन् ? मुलुकको दुर्दशा निम्त्याएको यिनैले होइन ? अमेरिका र बेलायतबाट तालिम प्राप्तहरु पनि त्यही बारीका मुला हुन् भन्ने जनतालाई छिटै अनुभव हुन्छ ।’
साथै केसीले रवि लामिछानेलाई मन्त्री बनाउने वा नबनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातमा नरहेको आरोप पनि लगाए । उनले भने, ‘शक्तिकेन्द्रहरुले रवि लामिछाने हिजो नेपाली नागरिकता नै नभएका बेला त उपप्रधान र गृहमन्त्री बनाए भने अब त नागरिकता लिएका छन्, प्रधानमन्त्री नै बनाउन सक्छन् । प्रचण्डको माग र तजबिजीमा छैन नि राजनीति । अब एमसीसी कार्यान्वयन गराउनु छ । यो सुस्त सुस्त तान्दै रम्ला, आफ्नै हातको धागो भनेजस्तै हो ।’