
बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलसहित ३१ जना उम्मेदवारको जमानत जफत भएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकामध्ये १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत भएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा ६४ मा खसेको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारले दफा २० बमोजिम दाखिला गरेको धरौटी जफत हुने र सो धरौटी रकम निर्वाचन कार्यालयले संघीय सञ्चित कोषमा दाखिला गरी सोको बैंक भौचर श्रेस्तासाथ राख्नु पर्ने उल्लेख छ ।
बारा–२ मा कुल मतदाता संख्या १ लाख ५ हजार २४८ रहेकोमा ६९ हजार २२ अर्थात ६५.५८ प्रतिशत मत खसेको थियो । जसमा ८३० मत बदर भएको थियो भने सदर मत ६८ हजार १९२ थियो । जम्मा खसेको सदर मत ६८ हजार १९२ को दश प्रतिशत मतका लागि ६ हजार ८१९ मत ल्याउनु पर्नेहुन्छ । तर, बारा–२ मा तीन उम्मेदवारबाहेक ३१ जना उम्मेदवारले जमानत जफत जोगाउन सकेनन् ।
घण्टी चुनाव चिह्न भएका रास्वपाका उम्मेदवार खरेलले जम्मा २ हजार ८२९ मत मात्रै प्राप्त गर्न सके । दश प्रतिशत मत ल्याउन नसक्दा उनको जमानत जफत भएको छ । यस्तै, आम जनता पार्टीका अरुण कुमार ज्ञवालीको पनि जमानत जफत भएको छ । मोबाइल चुनाव चिह्न लिएर उठेका उनले २ हजार ७३८ मत पाए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल प्रसाद साह तेलीले ११९ र नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अन्सारीले १०९ मत पाए । यसबाहेक अन्य उम्मेदवारले भने सय मत पनि कटाउन सकेनन् ।
वैैशाख १० गते भएको उपनिर्वाचनमा बारा–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष एवं उम्मेद उपेन्द्र यादव निर्वाचित भएका छन् । निकतटम् प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।
यस निर्वाचन क्षेत्रबाट उठेका ३४ जनामध्ये तीन उम्मेदवारबाहेक सबैको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले जानकारी दिए ।
विजेता यादवसहित निकतटम् प्रतिस्पर्धीका रुपमा रहेका कुशवाहा र एमालेका पुरुषोत्तम पौडेलले १० प्रतिशत मत कटाएका छन् ।