
लिग लिडर बार्सिलोनाले स्पेनिस लिग ला लिगामा सिजनको तेस्रो पराजय व्यहोरेको छ । रायो भालेकानोसँग बार्सा २ – १ गोलले स्तब्ध बनेको हो ।
रायो भालेकानोको मैदानमा भएको खेलको १९ औँ मिनेटमा अल्भारो गार्सियाले गोल गरे । फ्रान गार्सियाले ५३ औँ मिनेटमा अग्रता दोब्बर बनाए ।
बार्साका लागि फ्रान्क केसीले गरेको प्रहार बिफल भयो । ८३ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले सान्त्वना गोल फर्काए । यो उनको जारी लिगमा १८ औँ गोल हो ।
ला लिगामा २६ फेब्रुअरीपछि यो बार्साको पहिलो पराजय हो । बार्साले पछिल्ला चार खेलमा एकमा मात्रै जित हात पारेको छ । यद्यपि यो पराजयपछि पनि बार्सा उपाधिको बलियो दाबेदारको रुपमा रहेको छ ।
जाभिहर्नान्डेजको टोली बार्साको ३१ खेलबाट ७६ अंक छ । दोस्रो स्थानमा रहेको रियाल मड्रिड ११ अंकले पछि छ ।