
गण्डकी प्रदेश मुख्यमन्त्रीको नेपाली कांग्रेसका सुरेद्रराज पाण्डे नियुक्त भएका छन् ।
संविधानको धारा १६८ उपधारा २ मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पुर्याउन सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने प्रावधान बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख गुरुङले वैशाख १२ गते बहुमत प्राप्त सदस्यलाई आज (बिहीबार) दिउँसो ४ बजेसम्म दाबी पेस गर्ने समय दिएका थिए । मुख्यमन्त्री नियुक्त भएका पाण्डेले कांग्रेसको २७ र माओवादी केन्द्रका ७ जना र एकीकृत समाजवादी प्रवेश गरेका एक स्वतन्त्रसहित ३५ जना बहुमत प्रदेशसभा सदस्यको समर्थनमा दाबी पेस गरेका थिए ।
मुख्यमन्त्री पाण्डेको शपथ भोलि (शुक्रबार) हुने प्रदेश प्रमुख कार्यालयको तयारी छ । मुख्यमन्त्रीसँगै केही मन्त्रीले पनि शपथ लिनेछन् ।
प्रदेशका चौथो मुख्यमन्त्री बनेका पाण्डे गोरखाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा क्षेत्र ख बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै क्षेत्रमा गठबन्धन गरेर चुनावमा होमिएका पाण्डेलाई दाहालले त्यतिबेलै मुख्यमन्त्रीको मौखिक आश्वासन दिएका थिए । तनहुँ १ को उपनिर्वाचनमा कांग्रेस उम्मेवारलाई सघाउने गरी आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका माओवादी र कांग्रेसले चुनावमा पराजित भएपछि दुवैले पहिलो नेतृत्वमा दाबी गरेका थिए ।
यसअघि गण्डकीमा माओवादीको समर्थनमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनिसकेकाले अहिले माओवादीले पाउनुपर्ने भन्दै सशक्त दाबी गरेको थियो । तर कांग्रेसका प्रदेशसभा सदस्यहरू काठमाडौं गएर मुख्यमन्त्री पक्का गरेर फर्किएपछि माओवादी बिच्किएका कारण दाबी पेस गर्न ढिला भएको थियो । माओवादीले केन्द्रको निर्देशनअनुसार अन्तिममा आएर प्रदेशसभा सदस्यहरुको हस्ताक्षर दिएपछि पाण्डेले दाबी पेस गर्न पाएका थिए ।
योसँगै अब गण्डकीमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी प्रवेश गरेका एक स्वतन्त्रसहितको समर्थित कांग्रेस नेतृत्वको सरकार बनेको छ । २२ जना प्रदेशसभा सदस्य रहेको एमाले र २ सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिपक्षमा बस्नेछन् ।
गण्डकी प्रदेशमा कांग्रेसको संसदीय दलका नेतासमेत रहेका पाण्डे यसअघि राष्ट्रियसभा सदस्य भइसकेका व्यक्ति हुन् ।
वैशाख ९ गते एमालेका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउन नसकेपछि गण्डकीमा नयाँ सरकारको बाटो खुलेको थियो । केन्द्रको सत्ता समीकरण फेरिए सँगै चैत १० गते गण्डकीमा पनि सरकारबाट माओवादी केन्द्रले दुई मन्त्रीलाई फिर्ता बोलाएपछि अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।