
सर्वोच्च शिखर सगरमाथा आरोहणको इतिहासमा यो पटक सबैभन्दा धेरैले अनुमति लिएका छन् ।
अर्को साता सुरु हुने वसन्तकालीन आरोहणका लागि अहिलेसम्म ४ सय ६३ जनाले अनुमति लिइसकेका छन् । यो सङ्ख्या सगरमाथामा मानव पाइला टेकिएको ७० वर्षे इतिहासमै सबैभन्दा धेरै भएको पर्यटन विभागले जनाएको छ । अनुमति अझै एक साता दिइने भएकाले सङ्ख्या अझै बढ्न सक्ने विभागको अनुमान छ ।
सगरमाथाको वसन्तकालीन आरोहणका लागि ३ सय ६७ पुरुष र ९६ महिलाले अनुमति लिइसकेका छन् । ती मध्ये सबैभन्दा बढी ९६ चिनियाँ र दोस्रोमा अमेरिकी नागरिक छन् ।
अनुमति लिएकामध्ये ७० प्रतिशत आरोही आधार शिविर पुगिसकेका छन् । सोलुखुम्बुको नाम्चेमा पनि आरोही समूहको चहलपहल बढेको र अधिकांश होटेलहरु भरिएको छ । सगरमाथाबाहेक अन्य हिमाल आरोहणमा पनि यो पटक धेरैको रुचि देखिएको छ ।
६ हजार मिटर उचाइमाथिका नेपालका २४ वटा हिमाल आरोहणका लागि १ हजार ४६ जनाले अनुमति लिइसकेका छन् । यीमध्ये ८ सय ७ पुरुष र २ सय ३९ महिला छन् ।