
अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै महावीर पुनले आन्दोलन सुरु गरेका छन् ।
विभिन्न माग राख्दै उनले शुक्रबारदेखि काठमाडौंको माइतीघर मण्डलामा अनिश्चित कालका लागि आन्दोलन सुरु गरेका छन् । सरकारले प्रतिभा भएका र अनुसन्धान तथा आविष्कार गर्न सक्नेहरूको लागि केही नगरेकाले दबाब स्वरूप आन्दोलन गर्नु परेको पुनको भनाइ छ । पुनले भने, ‘नेपाल अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा धेरै पछाडि परेका छौँ । यो विषयमा जनस्तरमा सचेतना जगाउनको लागि आन्दोलन गर्नुपरेको हो ।’
पुनले नेपाल अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा धेरै पछाडि परेको भन्दै यो विषयमा जनस्तरमा सचेतना जगाउनको लागि आन्दोलन गर्नुपरेको पनि उल्लेख गरे । नयाँ विषयहरूको आविष्कार गर्ने, नयाँ प्रवर्द्धन गर्ने काम गर्न नसके मुलुकको अर्थतन्त्रलाई सुधार गर्न नसकिने भन्दै अर्थतन्त्र सुधार हुन नसक्दा नेपाली युवाहरू विदेश जान बाध्य हुने पुनले बताए ।
अर्थतन्त्र सुधारको लागि सरकारको प्रमुख प्राथमिकताकासाथ अनुसन्धान, आविष्कार र नवप्रवर्तन क्षेत्रमा लगानी गर्नुपर्नेमा बताए । नेपालमा सरकारले यस विषयमा प्राथमिकता नदिएकाले अर्थतन्त्र सुधार नहुँदा दुःख पाइएको उनको भनाइ छ ।
पछिल्लो ५ वर्ष राष्ट्रिय आविष्कार केन्द्र खोलेर काम गर्दासमेत सरकारले नदेखेको उनको आरोप छ ।













