१२ बैशाख २०८२, शुक्रबार

फरार सांसद लक्ष्मी महतो कोइरीको बचाऊ : सभामुख र एमालेमाथि प्रश्न

Lakshmi Koiri

शुक्रबार प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी ‘बिरामी’ रहेको विवरण सुनाए । पूर्वगृहमन्त्रीसमेत रहेका सांसद रवि लामिछानेले आपत्ति जनाउँदै भने– उहाँ बिरामी परेको होइन, फरार अभियुक्त हो ।

उपचुनाव जितेर दोस्रोपटक संसदमा हाजिर भएका लामिछानेले कोइरीलाई पक्राउ गर्न माग गर्दै भने, ‘म गृहमन्त्री भएका बेला फरार अभियुक्तका रुपमा हामीले खोजी गरेका थियौं । उहाँ फरार अभियुक्त हो । उहाँ भाग्नुभएको अभियुक्त हो । गरिमायम संसदले एउटा फरार अभियुक्तलाई, भागेको व्यक्तिलाई बिरामी भनेर करार गर्ने हो भने लोकतन्त्रका लागि योभन्दा ठूलो मजाक केही पनि हुँदैन । यो हास्यास्पद श्रंखला बन्द गर्नुपर्छ । अब राजनीतिका नाममा लाजनीति संसदमा नचलोस् ।’

त्यसपछि कोइरीकै विषयलाई लिएर केहीबेर संसदको बैठक रोकियो । राति ८ बजेपछि सभामुख घिमिरेले कोइरीको बचाऊ गर्ने नयाँ उपाय प्रस्तुत गरे । सभामुखले कोइरीको बिरामी बिदाबारे अर्को बैठकमा निर्णय गरिने सदनलाई जानकारी दिए । जबकि, बिरामी परेको अवस्था बाहेक १० वटा बैठकमा लगातार अनुपस्थित भएको सांसद स्वतः निलम्बनमा पर्छ ।

जनताको प्रतिनिधित्व गर्ने सांसद बैठकमा लामो समयसम्म अनुपस्थित रहन नमिल्ने संविधानको भावना रहेको विज्ञको भनाइ छ । ‘कुनै पनि सांसदले सम्बन्धित क्षेत्रका जनताको प्रतिनिधित्व गरेको हुन्छ’ बरिष्ठ अधिवक्ता टीकाराम भट्टराई कान्तिपुर टेलिभिजनसँग भन्छन्, ‘ऊ नियमित रुपमा प्रतिनिधित्व गर्न सकोस् भनेर १० पटक भन्दा बढी बैठकमा अनुपस्थित हुनुहुँदैन भन्ने संविधानको धारा ८९ मा संविधान निर्माताहरुले व्यवस्था राखेको हो ।’

बिरामी नै नभएका फरार सांसद कोइरी २१ वटा बैठकमा अनुपस्थित भइसकेका छन् । तर, सभामुखले एमाले सांसद कोइरीलाई बचाऊ गरेका छन् । अझ, नेकपा एमालेले त कोइरीलाई संसदको उद्योग वाणिज्य श्रम तथा उपभोक्ता हित समितिमा राख्न सिफारिस गरेको छ ।

प्रहरीको फरार सूचीमा रहेका सांसदलाई ‘बिरामी’ करार गर्ने र बिदाको प्रस्ताव गर्ने कार्यले सभामुख घिमिरेको नियतमाथि पनि प्रश्न उठेको छ । एमालेका पूर्व नेतासमेत रहेका घिमिरेले २१ पटक अनुपस्थित रहेका कोइरीलाई प्रतिनिधिसभा नियमावली अनुसार स्वतः निलम्बन गर्न नसक्नुमा उनी एमालेबाट प्रभावित बनेको प्रष्ट देखिएको छ ।

नेकपा एमालेले कोइरीलाई किन बचाउ गरिरहेको छ त ? यो भन्दा आश्चार्य मान्नुपर्ने प्रश्न त यो छ कि एमालेले कोइरीलाई महोत्तरी १ मा किन टिकट दियो र जितायो ? जबकि त्यसबेलै उनी फरार अभियुक्तको सूचीमा थिए ।

    सम्बन्धित समाचार...