
एसीसी मेन्स प्रिमियर कपको फाइनलमा नेपाल र यूएईबीचको खेल सुरु भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा बिहान ९ बजे सुरु भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ ।
यूएईविरुद्धको खेलमा नेपालले आज एक परिवर्तन गरेको छ । दीपेन्द्रसिंह ऐरीलाई बेन्चमा राख्दै उनको स्थानमा गुलसन झालाई प्लेइङ ११ मा समेटेको छ।
नेपाली खेलाडीलाई हौसला प्रदान गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का टीयू मैदान पुगेका छन् । उनले मैदानमै पुगेर खेलाडीहरुसँग हात मिलाउँदै शुभकाना दिएका छन् ।
एसिया कप खेल्न एक जितबाट टाढा रहेको नेपालले आज यूएईको चुनौती पन्छाउनु पर्ने छ ।
दुई दिन यतादेखि काठमाडौं उपत्यकामा अपराह्नपछि लगातान वर्षा हुँदै आएको र आज पनि वर्षाको सम्भावना रहेकाले फाइनल खेल प्रतिकूल मौसमका कारण प्रभावित हुन सक्ने सम्भावना छ । यद्यपि, अहिले बिहान काठमाडौंको आकाश धुम्मिएको मात्रै छ । पानी परेको छैन ।
एसीसी मेन्स प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको खेल बहुप्रतीक्षित हो । पछिल्लो समय असोसिएट राष्ट्रमा यी दुईबीचको भिडन्तलाई एल क्लासिकोको रुपमा पनि ब्याख्या गरिन्छ ।
यो खेलमा जित हात पार्ने टोलीले क्रिकेटका पावर हाउस भारत, पाकिस्तान जस्ता देशसँग प्रतिस्पर्धा गर्ने मौका पाउनेछ ।
यी दुईबीच भएको पछिल्ला चार भेटमा नेपालले तीन जित हात पार्दा यूएईले एक मात्र जित हात पारेको छ । नेपालले एक महिनाअघि टीयू मैदानमै विश्व क्रिकेट लिग टुमा यूएईलाई नै हराउँदै एकदिवसीय मान्यता जोगाएको थियो भने विश्वकप छनोटमा स्थान बनाएको थियो।
जारी प्रतियोगितामा नेपालले अपराजित रहँदै फाइनलसम्मको यात्रा तय गरेको हो । लिग टुअन्तर्गत पछिल्लो पटक यूएईसँग उसैको मैदानमा पराजय ब्यहोरे यताको ९ खेलमा नेपाल अपराजित छ । नेपाल सोही लयलाई निरन्तरता दिँदै एसिया कपमा स्थान बनाउने लक्ष्यमा हुनेछ ।
