
चीनसँगको उत्तरी तातोपानी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । २०७२ सालको भूकम्पले आठ वर्षदेखि आयात मात्रै हुँदै आएको तातोपानी नाकाबाट निर्यात पनि खुलेको हो ।
पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी स्वरूप आजदेखि दुईतर्फी आयात निर्यात सुरु भएको हो । भोटेकोशी गाउँपालिका-२ बाट चीन जोड्ने उत्तरी नाकाबाट निर्यात खुल्दा मुढासहित अन्य हस्तकलाका सामग्री तीन कन्टेनर पठाइएको छ।
तर आठ वर्षपछि तातोपानी नाकाबाट निर्यात खुल्दा नेपाल सरकारको चासो नै देखिएन । लामो समयपछि सामान निर्यात सुचालुका क्रममा सीमा पारी तामझाम देखियो तर वारि नेपालको व्यवस्थापन फितलोका कारण खासै रौनक देखिएन । चिनियाँ राजदूतसहित कडा सुरक्षामा चिनियाँहरु तैनाथ हुदाँ नेपालतर्फ व्यवसायी, राजनीतिक दल वा सरकारी उपस्थिति देखिएन।
नेपालबाट भित्रिएको सामान स्वागत गर्न कडा सुरक्षाकाबीच चिनियाँ नागरिक तैनाथ थिए भने नेपाली प्रतिनिधिको रुपमा भन्सार प्रमुख मात्र मितेरी पुल पुगेका थिए ।
निर्यात खुलाउछु भन्ने केन्द्रदेखि स्थानीय राजनीतिकर्मी र व्यवसायी उपस्थित भएनन् न त कुनै औपचारिक कार्यक्रम नै । सामान निर्यात गर्दा नेपाल सरकारको कुनै चासो नदेखिए पनि चिनियाँ पक्षले भने मितेरी पुलबाट नेपालबाट भित्रिएका ४० फुटे तीनवटा कन्टेरका सामानलाई पार्टी पेपर पट्काएर खुशीले स्वागत गरे ।
गत महिना नेपाली र चिनियाँ अधिकारीहरुबीच ल्हासामा भएको बैठक पछि नाका भूकम्प अघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भए अनुसार आजदेखि नेपाल र चीन दुवैतर्फबाट आयात निर्यात खुल्ला भएको हो । यसअघि चीनबाट सामग्री ल्याउन एकतर्फी सञ्चालनमा रहेको तातोपानी नाका पहिले जस्तै नेपालबाट पनि सामग्री लैजाने कार्य सुचारु भएको छ ।
भूकम्पपछि निर्यात ठप्प रहेको नाकाबाट तीनवटा टेलर (नेपाली ६ वटा गाडी) मार्फत बाँसको मुडा, कुर्सी र म्याट्रेस गरी करिब ३७ लाख बराबरको सामग्री निर्यात गरिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
भुकम्पका कारण २०७२ वैशाखदेखि नाकाबाट निर्यात हुन सकेको थिएन । अब भने सामग्री नियमित निर्यात हुने सम्भावना रहेको भन्सार कार्यालयले जनाएको छ। भूकम्पअघि उत्तरको सबैभन्दा ठूलो नाका थियो। वार्षिक २० अर्बको आयात र २ अर्बको निर्यात व्यापारबाट राज्यले वार्षिक ५ अर्ब रुपैयाँभन्दा बढी राजस्व आम्दानी गर्ने गर्थ्यो ।




