
प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको अर्थतन्त्र विकासका लागि निजी क्षेत्र र सरकार मिलेर अगाडि बढ्नुपर्ने धारणा राखेका छन् ।
पूर्वी नवलपरासीको गैंडाकोटमा मौलाकाली केबलकारको सोमबार उद्घाटन गर्दै दाहालले भने, ‘रोजगारी र उद्यमशीलता बढाउने काम सरकारले भन्दा निजी क्षेत्रले गर्ने हो । सरकारले लगानीको वातावरण बनाउने र आवश्यक नीति-नियम बनाउने हो । यसमा सरकार सधैं तत्पर छ ।’
मुलुकमा विद्यमान आर्थिक संकट समाधान भएर अर्थतन्त्रमा सकारात्मक सूचक देखिएको दाबी गर्दै उनले चालु आर्थिक मसान्तसम्ममा अर्थतन्त्रको वृद्धिदर ७ देखि ८ प्रतिशतमा पुग्ने जनाए ।
प्रसिद्ध धार्मिकस्थल मौलाकालीमा १ दशमलव २ किलोमिटरको दूरीमा केवलकार सञ्चालनमा आएको छ । उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं मौलाकाली केवलकारका सञ्चालक चन्द्र ढकालले सातवटै प्रदेशमा केवलकार सञ्चालन गर्ने योजनाअनुसार काम अगाडि बढेको जानकारी दिए ।