
उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।
काठमाडौंको जडीबुटीबाट उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
गृह मन्त्रालयमा कार्यरत रहँदा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश लैजाने प्रकरणमा संलग्न भएको आरोपमा उनी पक्राउ परेका हुन् ।
पाण्डे बादल गृहमन्त्री हुँदा गृह सचिव रहेका थिए । पाण्डेले २०७८ साउन २७ देखि २०७९ असोज २ सम्म गृह सचिवको जिम्मेवारी सम्हालेका थिए ।
पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ । जिल्ला अदालतले उनलाई पक्राउ गर्न प्रहरीलाई पक्राउ पुर्जी दिएको थियो ।
यसअघि, मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन करोडौं रुपैयाँ असुल गर्दै आएको गिरोहका मुख्य योजनाकारका रुपमा राईलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ। राई पक्राउ परेपछि सचिव पाण्डे घर छाडेर बाहिर बसेका थिए ।
गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेल पक्राउ परेपछि तिनले दिएको बयानका आधारमा राईलाई सौखेलस्थित निवासबाटै पक्राउ गरिएको थियो ।