
नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरूविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको हो । आजै पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । पाण्डे तत्कालीन गृहसचिव हुन् । पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ ।
यसअघि, मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन करोडौं रुपैयाँ असुल गर्दै आएको गिरोहका मुख्य योजनाकारका रुपमा राईलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ। राई पक्राउ परेपछि सचिव पाण्डे घर छाडेर बाहिर बसेका थिए ।
गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेल पक्राउ परेपछि तिनले दिएको बयानका आधारमा राईलाई सौखेलस्थित निवासबाटै पक्राउ गरिएको थियो ।