
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका छन् । सरकारले अध्यादेशमार्फत मिटरब्याजीलाई कारबाही गर्ने गरी कानुन ल्याएको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका हुन् । ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० अध्यादेश जारी गर्नुभएको छ,’ राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा विज्ञप्तिमा उल्लेख छ ।
अध्यादेशले मुलुकी संहितामा संशोधन गर्दै मिटरब्याजलाई अनुचित लेनदेनका रूपमा कानुनी रूपमा परिभाषित गर्दै त्यस्तो कार्य दण्डनीय हुने प्रावधान थपेको छ । सरकारले यसअघि चैत १९ मा आन्दोलनमा उत्रिएका मिटरब्याजीपीडितसँगको सम्झौताका क्रममा फास्ट ट्रयाकबाट कानुन ल्याएर मिटरब्याजीलाई कारबाहीको प्रक्रिया अघि बढाउने भनेको थियो । लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले कानुन बनाउने निर्णय गरेको थियो ।