
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई पछिल्लो ३ दिनमा दोस्रो पटक भेट गरेका हुन् । दुई नेताबीच सिंहदरबारमा भेटवार्ता जारी रहेको स्रोतले बतायो ।
एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीका नेतालाई अनावश्यक रुपमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछ्न खोजिएको भन्दै बचाउ गर्दै आएका छन् ।
दुई दिनअघि प्रधानमन्त्री दाहाललाई भेटेर बाहिरिने क्रममा ओलीले एमाले नेता रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुनु रहस्यमयी भएको प्रतिक्रिया दिएका थिए । उनले यो प्रकरणमा तानिएको हो कि तनाइएको हो भन्दै अध्ययन गरिरहेको जनाएका थिए ।
प्रधानमन्त्री दाहालसँगको उक्त भेटमा पनि ओलीले शरणार्थी प्रकरणमा एमाले नेता रायमाझीलाई मुछिएको विषयमा असन्तुष्टि पोखेका थिए ।