
गण्डकी प्रदेशका चारजना नवनियुक्त मन्त्रीले शपथ लिएका छन् ।
प्रदेश प्रमुखको कार्यालय पोखरामा शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । कांग्रेसबाट महेन्द्रध्वज जीसी कृषि तथा भूमि व्यवस्था, जितप्रकाश आलेमगर आर्थिक मामिला र दीपेन्द्रबहादुर थापा उद्योग, पर्यन, वन तथा वातावरणमन्त्री बनेका छन् ।
माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री बनेका छन् । एमालेका खगराज अधिकारीले विश्वासको मत पाउन नसकेर ढलेपछि कांग्रेसका सुरेन्द्रराज पाण्डे वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
पाण्डेसँगै कांग्रेसकी सरस्वती अर्याल तिवारी र माओवादीकी सुशीला सिम्खडाले विनाविभागीय मन्त्री बनेका थिए । मुख्यमन्त्री पाण्डेले शुक्रबार सिम्खडालाई सामाजिक विकास तथा स्वास्थ्य र अर्याललाई ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रालयको जिम्मेवारी दिएका छन् ।