
नेपाली कांग्रेसका नेता एंव सांसद सञ्जयकुमार गौतम विभिन्न १५ बुँदे माग राख्दै आमरण अनसनमा बसेका छन् । शनिबार साँझदेखि उनी गुलरिया र बारबर्दिया जोड्ने भासिएको पुलमुनि अनसन बसेका हुन् ।
गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने पुल करिब ६ वर्षदेखि भासिएपनि राज्यले वास्ता नगरेका कारण पुनः निर्माणको माग राख्दै आमरण अनसनमा बसेका हुन् । सांसद गौतम आमरण अनसनमा बसेका छन् भने प्रदेशससभा सदस्य भुवनेश्वर चौधरी रिले अनसनमा छन् । माग पूरा नभएसम्म अनसन जारी राख्ने गौतमले जनाए ।
‘मलाई पनि अचम्म लाग्छ । म सत्ताधारी सांसद, प्रचण्डजीलाई प्रधानमन्त्री बनाउन भोट हालेको सांसद । रोस्टममा उभिएर कराउँछु । आफ्नो कुराहरु राख्छु । नेताहरुको ढोका ढोकामा जान्छु, यो परिस्थितिलाई भन्छु । तर सुनुवाइ भएन । त्यही भएर जनताको बिचमा आएँ,’ उनले भने, ‘तपाईंहरुले पठाएको म जनप्रतिनिधि, मैले कराएँ । यी हेर्नुहोस् म अहिले तपाईंहरुको बिचमा छु । सडकदेखि सदनसम्म दबाब सिर्जना नगरीकन हाम्रो सुनुवाइ हुँदैन भन्ने निष्कर्षका साथ म अनसनमा बसेको हुँ ।’
पप्पु कन्सट्रसनले निर्माण गरेको उक्त पुल ०७४ साल साउन २८ गते भासिएको थियो । ०७९ सालमा आएको बाढीले पिलरसहित भौतिक संरचना बगाएपछि गुलरिया र बारबर्दिया नगरपालिकाका करिब १ लाख बासिन्दा प्रभावित भएका छन् । सरकारले पुल निर्माणमा वास्ता गरेपछि बाध्य भएर अनसनमा बस्नु परेको सांसद गौतमको भनाइ छ ।
