
प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी जुनसुकै तहका व्यक्ति भए पनि कानुनी कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद मेटमणि चौधरीले शेरबहादुर कुँवरमार्फत सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले दोषी जुनसुकै तहका पदाधिकारी तथा व्यक्ति भए पनि कानुनी दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने जनाएका हुन् । उनले प्रहरीको निष्पक्ष र व्यावसायिक अनुसन्धानमा हालसम्म कुनै पनि हस्तक्षेप नभएको र आगामी दिनमा पनि हस्तक्षेप नगरिने जनाए । उनले दोषी नउम्किउन् र निर्दोष नपरुन् भन्नेमा सरकारको जोड रहेको उल्लेख गरे ।
‘नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने अपराधको निष्पक्ष अनुसन्धान गरी प्रमाणका आधारमा दोषी देखिएका जुनसुकै तहका पदाधिकारी तथा व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन यो सरकारले कुनै कसर बाँकी राखेको छैन । र बाँकी राख्ने पनि छैन । नेपाल प्रहरीको निष्पक्ष र व्यावसायिक अनुसन्धान कार्यमा कुनै निकायबाट पनि हस्तक्षेप भएको छैन । हस्तक्षेप गरिने छैन । र हस्तक्षेप हुन दिइने पनि छैन । भ्रष्टाचारसँग सम्बन्धित अन्य प्रकरणको पनि कानून अनुसार अनुसन्धान र कारबाही हुने व्यहोरा म प्रष्ट गर्न चाहन्छु । दोषी कोही पनि उम्किन नपाओस् । निर्दोष कोही पनि नपरोस् भन्ने हाम्रो जोड रहेको छ,’ उनले भने, ‘जुनसुकै तह र तप्काका भए पनि यो अपराधमा संलग्न जो कोही पनि कानुनको दायरामा आउने नै छन् । त्यो प्रक्रिया अगाडी बढाइ पनि सक्नुभएको छ । भीभीआईपीहरु पनि परि त राखेका छन् । त्यसकारण यसमा स्वतन्त्र र निष्पक्ष रुपले छानबिन भइराखेको कुरा त्यसले प्रमाणित गर्दछ । यस्ता विषयमा सरकारले कुनै आग्रह या कुनै पूर्वाग्रह नलिइ निष्पक्ष, तटस्थ र व्यवसायिक छानबिन गरी अन्तिम निस्कर्ष निकाली अपराधिलाई कानूनको दायरामा ल्याउन जोड गरेको छ ।’
उनले प्रधानमन्त्रीको हैसियतले आफूले उपप्रधानमन्त्री तथा गृहमन्त्रीलाई यसमा दृढतापूर्वक र निष्पक्षताका साथ दोषी नउम्कने र निर्दोष नपर्ने नीतिअन्तर्गत अगाडी बढ्न निर्देशित गरेको पनि जानकारी दिए ।
प्रधानमन्त्री दाहालले प्रहरीले स्वतन्त्र र निष्पक्ष छानबिनको प्रक्रिया अगाडि बढाइराखेको जानकारी गराए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको दायरामा ल्याएर मात्रै सुशासनको नयाँ प्रक्रियाको थालनी गर्न सकिन्छ भन्नेमा सरकारको विश्वास रहेको जनाए ।