१२ बैशाख २०८२, शुक्रबार

चार महिना नबित्दै संकटमा मधेस प्रदेश सरकार

Saroj Kumar Yadav

मधेस प्रदेशको तत्कालीन मन्त्रीमण्डलमा सहभागी सबैभन्दा ठूलो दल नेकपा एमाले समर्थन फिर्ता लिएपछि जसपा नेतृत्वको सरकार संकटमा परेको छ ।

दुईवटा मन्त्रालयसहित सरकारमा सहभागी जनमतलाई जसपाले हटाउन खोजिरहेको छ । नेतृत्व परिवर्तनको पक्षमा देखिएको नेपाली कांग्रेस र लोसपासँग जनमत पार्टी अहिले नजिक छन् ।

तत्कालीन केन्द्रीय गठबन्धनअनुसार नेकपा एमाले, जनमत पार्टी, माओवादी केन्द्रलगायत दलको समर्थनमा गत पुस २९ गते दोस्रो कार्यकालका लागि जसपाको नेतृत्वमा मधेस प्रदेश सरकार गठन भयो । केन्द्रीय राजनीति परिवर्तनसँगै सरकारबाट बाहिरिएको झन्डै डेढ महिनापछि एमालेले समर्थन पनि फिर्ता लियो । त्यसपछि बनेको मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार पनि ४ महिना नबित्दै संकटमा परेको छ । यही विषयलाई लिएर मधेस प्रदेश सरकारको नेतृत्वको माग गरिरहेको कांग्रेसले मुख्यमन्त्री यादवलाई संसद्‌बाट विश्वासको मत लिन दबाब दिन थालेको छ ।

नेकपा एमालेले आफ्नो समर्थन फिर्ता लिएसँगै निश्चित रुपमा अहिलेको सरकार अल्पमतमा परेको नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णा यादवको तर्क छ ।

हुन त गुण र दोषका आधारमा सरकारबाहिर बसेर कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादीलगायतले वर्तमान सरकारलाई समर्थन दिएका थिए । तर, सरकार गठनका बेला मन्त्रिपरिषद्‌मा सहभागी दलले नै समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ ।

सुरुमा सबै दलको मत वर्तमान सरकारको समर्थनमा परे पनि पछि आएर सरकारमा सहभागी दलले नै समर्थन फिर्ता लिएको हुनाले अहिलेको सरकारले पुन: विश्वासको मत लिनुपर्ने नेपाल बार एसोसिएसन जनकपुरधामका अध्यक्ष बलराम सुवेदी बताउँछन् । उनी भन्छन्, ‘संवैधानिक व्यवस्थाका आधारमा पनि र नैतिकताका आधारमा पनि मुख्यमन्त्रीले विश्वासको मत लिनैपर्ने हुन्छ ।’

केन्द्रीय गठबन्धनमा सहभागी रहे पनि मधेस प्रदेशका मुख्यमन्त्रीलगायत जसपाका मन्त्रीहरुले आफूहरुलाई कुनै वास्ता नगरेको, नीति तथा कार्यक्रम र बजेट निर्माणलगायत गतिविधिमा सहभागी नगराएको भन्दै कांग्रेस, लोसपा, नेकपा एकीकृत समाजवादीलगायत दलले असन्तुष्टि जनाउँदै आएका छन् ।

मधेस प्रदेशसभामा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जसपा १८, जनमत १३, लोसपा ९, माओवादी केन्द्र ९, नेकपा एकीकृत समाजवादी दल ७ र स्वतन्त्र ३ जनाका साथै नागरिक उन्मुक्ति पार्टी, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीका एक-एकजना सदस्य छन् ।

    सम्बन्धित समाचार...