
बिराट कोहली सम्मिलित रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिगबाट बाहिरिएको छ । गएराति भएको खेलमा गुजरात टाइटन्ससँग बैंगलोर ६ विकेटले पराजित भयो । बैंगलोरको हारले मुम्बई इन्डियन्सले प्ले अफमा स्थान बनाएको छ ।
बैंगलोरस्थित चिन्नास्वामी स्टेडिममा गुजरातले टस जितेर फिल्डिङ गर्ने निर्णय गर्यो । बैंगलोरले कोहलीको शतकको मद्दतमा २० ओभरमा ५ विकेट गुमाएर १ सय ९७ रनको योगफल बनाएको थियो ।
कप्तान फाप डु प्लेसिस २८, ग्लेन म्याक्सवेल ११, माहिपल लोमरोर १ र मिखायल ब्रेसवेल २६ रनमा पभेलियन फर्किएका थिए ।
कोहलीले १०१ रनको शतकीय इनिङ्स खेले । जारी आईपीएलमा लगातार दोस्रो खेलमा शतक बनाएका कोहलीले ६१ बल खेल्दै १३ चौका र एक छक्का प्रहार गरे । नुर अहमदले दुई विकेट लिए । मोहम्मद सामी, रासिद खान र यस दयालले १ – १ विकेट लिए ।
जवाफमा गुजरातले १९ ओभर १ बलमा २ विकेटको नोक्सानीमा लक्ष्य पूरा गर्यो। गुजरातको जितमा शुभम गिल नायक सावित भए । रिद्धिमान साह १२ र विजय शंकर ५३ रनमा आउट भएका थिए । गिलले अन्तिम समयसम्म क्रिजमा रहँदै ५२ बलमा १ सय ४ रनको योगदान गरे । उनको इनिङ्समा ५ चौका र ८ छक्का समावेश थियो । मोहम्मद सिराजले २ विकेट लिए ।
गुजरात शीर्ष स्थानमा रहँदै यसअघिनै प्ले अफ पुगिसकेको थियो । बैंगलोरलाई भने प्ले अफमा पुग्न जित आवश्यक थियो । उसको हारले मुम्बई प्ले अफ पुग्ने चौथो टोली बन्यो । अब पहिलो प्ले अफमा भोलि गुजरात र चेन्नाई सुपर किंग्स तथा एलिमिनेटरमा लखनउ सुपर जाइन्टस र मुम्बई भिड्नेछन् ।