
पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ नेपाल भनेको यहीँ हो भन्दै प्रश्न गरेका छन्।
सोमबार कैलालीको धनगढी पुगेका पूर्वराजा शाहले राज्यप्रति जनताको वितृष्णा बड्दै गएको भन्दै नयाँ नेपाल भनेको यहीँ हो भनि प्रश्न गरेका हुन्।
उनले धनगढीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सोझासाझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने आजको प्रपञ्च अब खुल्दै गएको बताएका छन।
नेपाली जनतालाई आफ्नो भू भाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रमपसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन् त्यसबाट हाम्रो इज्जत, गौरब सबै लोप भएर गएको उनको दाबी छ। उनले भने, ‘देशभित्रै बसौं, देश मै पसिना बगाउँ र आफ्नो पौरखले आफ्नै देश सपारौं भन्ने भावना हराउँदै गएको छ।’
‘के नयाँ नेपाल भनेको यही हो? के अग्रगामी भनेको पराबलम्बी नेपाल हो? के नेपालको आफ्नो अस्तित्व छैन? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन?,’ उनले प्रश्न गरे।
उनले यस्तो दारुण दृश्य देख्दा हामी सबैको आँखा रसाउँदै गएको बताएका छन्। उनले भने, ‘आजको युग विकासको युग हो। आजको युग प्रविधीको युग हो। हामी आफ्नै श्रोत साधन आफ्नै सामर्थ्य र आफ्नै स्वतन्त्र सत्ताद्वारा आफ्नो युगानुकूल उन्नति चाहन्छौं।’