
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाली कांग्रेस इतिहासबाट अन्त्यको बाटोमा लागेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभामा जारी सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले नीति तथा कार्यक्रममा समावेश गरिएको जनयुद्ध शब्द कांग्रेसले स्वीकार गरेको हो ? भन्दै प्रश्न गरे । उनले विद्वान फ्रान्सेस फुकुमायाको पुस्तकको चर्चा गर्दै साँच्चै कांग्रेसले जनयुद्ध दिवस मानेको भए ‘इन्ड अफ हिस्ट्री’ हुने चेतावनी दिए ।
उनले भने ‘कांग्रेसले नीति तथा कार्यक्रमको बुँदा नम्बर १ स्वीकार गर्छ कि गर्दैन यसको जवाफ पार्टी सभापतिबाट चाहान्छु तर उहाँ कम बोल्न रुचाउँनुहुन्छ त्यसैले यस प्रश्न्को जवाफ नआउन नि सक्छ’ ।
कांग्रेसका अग्रज नेताहरु विपी कोइराला, कृष्णप्रसाद भट्टराई,गणेशमानसिंह र गिरिजाप्रसाद कोइरालाहरुको अवसान भएपछि कांग्रेस माओवादीको साहारमा हिड्न सुरू गरेको भन्दै कांग्रेसलाई उनले निम्छरोको संज्ञासमेत दिए ।
संविधान निर्माणपछि जनयुद्ध शब्द कुनै पनि सरकारी दस्तावेजमा नरहेको भन्दै उनले तर, राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उक्त शब्द वाचन गराइएको भन्दै कांग्रेसको पनि आलोचना गरे ।
जनयुद्ध शब्द कांग्रेसकै सहमतिमा उल्लेख गरिएको अनुमान लगाउँदै उनले कांग्रेस इतिहासमै निम्छरो अवस्थामा रहेको टिप्पणी गरे । यस्तै अवस्था रहिरहे कांग्रेसलाई हिस्ट्रीले बाईबाई गर्ने बताए ।