
इंग्लिस प्रिमियर लिग क्लब न्युक्यासल युनाइटेड २० वर्षपछि च्याम्पियन्स लिगमा छनोट भएको छ।
इंग्लिस प्रिमियर लिगमा न्युक्यासल र लेस्टर सिटी गोलरहित बराबरीमा रोकिएपछि न्युक्यासले शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो ।
सेन्ट जेम्स पार्कमा भएको खेलमा इडी हाउको टोली न्युक्यासले खेल अवधी भर राम्रो पकड बनाएपनि डेडलक भने तोड्न सकेन ।
न्युक्यासलले ७८ प्रतिशत पोजिसन राख्न सफल भएको थियो भने तीन पटक गोलका लागि ठूलो अवसरसमेत पाएको थियो । तर त्यसलाई सदुपयोग भने गर्न सकेन ।
कलुम विलसनले गरेको प्रहार बारमा लागेर फर्कियो । विल्फ्रिद एनडीडीले गरेको हेडर प्रहारले पनि पोस्टको दिशा लिन सकेन। दोस्रो हाफमा पनि एलेक्जेन्डर इसाकले न्युक्यासलका लागि गरेको प्रहार गो्लरक्षक ड्यानिल इभरसनले एक्रोबेटिक मुभमार्फत रोकेका थिए ।
बु्रनो गुइमारेसले गरेको प्रहार बारमा लागेर फर्कियो । तर न्युक्यासलाई शीर्ष चारमा अटाउन बराबरी पनि पर्याप्त थियो । यो नतिजापछि न्युक्यासले लिगको एक खेल बाँकी हुँदा ७० अंक बनाएको छ। न्यु क्यासल पाचौँ स्थानको लिभरपुल भन्दा ४ अंकले माथि छ ।
पछिल्लो पटक २००३/४ को सिजनमा न्युक्यासल सर बबी रोबसनको नेतृत्वमा युरोपको सबैभन्दा ठूलो प्रतियोगिता खेलेको थियो। यता यो बराबरीपछि लेस्टर रेलिगेट हुने खतरा बढेको छ। १८ औँ स्थानमा रहेको लेस्टर सिटीको ३७ खेलबाट ३१ अंक छ। पछिल्ला १५ खेलमा मात्रै एक जित दर्ता गरेको लेस्टरले अब अन्तिम खेलमा वेस्ट ह्यामलाई हराएर पुग्दैन । १७ औँ स्थानको एभर्टनको नतिजामा पनि भर पर्नु पर्नेछ ।