
टीकापुर घटनामा दोषी ठहर भई कैद सजाय भोगिरहेका पूर्वसांसद रेशम चौधरीसहित विभिन्न मुद्दाका १९ जना बन्दीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका छन् ।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिस बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा रेशमसहित १९ जनालाई माफी दिएका हुन् । मन्त्रिपरिषद् बैठकले चौधरीसहित सशस्त्र युद्धकालीन र २०५६ सालको चुनावमा भएको झडपसँग सम्बन्धित घटनामा दोषी ठहर भएका १९ जनालाई माफी दिन सिफारिस गरेको थियो । सरकारले सिफारिस गरेको केही घण्टामै राष्ट्रपतिले आजै उनीहरूको कैद मिनाहा गरिदिएका छन् ।
गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले चौधरीलाई आम माफी दिन सिफारिस गरेको थियो । सरकारले राजनीतिसँग जोडिएका घटनामा सजाय भोगिरहेका वा मुद्दा चलिरहेका व्यक्तिहरूलाई ऐन नै संशोधन गरेर मुद्दा फिर्ता लिने तयारी गरेको थियो । तर, संसदबाट ऐन संशोधन नहुँदै मन्त्रिपरिषद् बैठक आममाफीको निर्णयमा पुगेको हो । राष्ट्रपति पौडेलले चौधरीलाई आममाफी दिने विषयमा सरकारलाई कानुन बमोजिम गर्न राय दिएपछि चौधरीले आममाफी पाउने बाटो खुलेको हो । टीकापुर घटनामा भने रेशमलाई मात्रै माफीको सिफारिस गरिएको छ । सरकारले विज्ञसँगको सल्लाह अनुसार नै निर्णय गरिएको जनाएको छ ।