८ बैशाख २०८२, सोमबार

१७ खर्बको बजेट आज संसदमा पेश हुँदै

bajet

आज आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट सार्वजनिक हुँदै छ । यो नेपालको ७३औं बजेट हो । २००८ सालमा नेपालको पहिलो बजेट प्रस्तुत भएको थियो । ५ करोड २५ लाखबाट सुरु भएको बजेट २०४६ को राजनीतिक परिवर्तनपछि ३६ अर्ब पुगेको थियो । त्यस्तै आर्थिक वर्ष २०६१/६२ मा बजेटको आकारले १ अर्ब नाघेको थियो र अहिले बजेटको आकार १७ खर्बको हाराहारी पुगेको छ ।

बजेटलाई सरकारको आम्दानी र खर्चको विवरणसहित घोषणा गरिने कार्यक्रमको सँगालो भनिन्छ । त्यस्तै कतिपयले यसलाई सरकारको राजनीतिक, आर्थिक, सामाजिक घोषणापत्र पनि भन्ने गरेका छन् । समग्रमा भन्दा कुनै निश्चित अवधिका लागि सरकारले तयार गरेको आम्दानी र खर्चको योजनाबद्ध विवरण हो । बजेट फ्रेन्च शब्द बुगेटबाट आएको हो, जसको अर्थ वालेट हो । सन् १७३३ मा तत्कालीन वित्त मन्त्री रोबेर्ट वालपोलेले सर्वप्रथम बजेट प्रस्तुत गरेपछि आधुनिक बजेटको सुरुवात भएको हो ।

नेपालमा भने त्यसको २ सय १८ वर्षपछि विसं २००८ सालबाट बजेटको सुरुवात भएको थियो । तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरले पहिलो पटक बजेट प्रस्तुत गरेपछि आयव्ययका विषय सर्वसाधारणले थाहा पाउन थालेका हुन् । त्यसपछि हरेक वर्ष नेपाल बजेट प्रस्तुत हुँदै आएको छ । गणतान्त्रिक संविधान बनेपछि त संविधानमै जेठ १५ मा बजेट ल्याउने व्यवस्था गरेको छ ।

२००८ मा सुवर्णशमशेरले संसद्‌समक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । बजेटको जम्मा पुँजीमा राजस्वतर्फ ३ करोड ६ लाख १९ हजार रुपैयाँ राखिएको थियो । २०४६ को राजनीतिक परिवर्तनपछि अर्थमन्त्री महेश आचार्यले ३६ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएका थिए । जसमा १६ अर्ब ८९ करोड विकासका लागि छुट्याइएको थियो ।

नेपालको बजेट इतिहासलाई हेर्दा बजेटले आर्थिक वर्ष ०६१/६२ सालमा पहिलोपटक एक खर्ब रुपैयाँ नाघेको थियो । अर्थिक वर्ष ०७०/७१ मा नेपालको बजेट ८ खर्ब १९ अर्ब ४६ करोड रुपैयाँ पुगेको थियो । त्यस्तै आर्थिक वर्ष ०७३/७४ को बजेट अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेटले १० खर्ब नाघेको थियो । त्यस्तै तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि हालसम्मकै सबैभन्दा ठूलो बजेट प्रस्तुत गरेका थिए । जुन १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको थियो ।

    सम्बन्धित समाचार...