
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भारतको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’को नक्साले नेपाललगायत छिमेकी मुलुकसँगको सम्बन्ध बिगार्न सक्ने बताएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको पूर्वसन्ध्यामा भारतले उक्त नक्साबारे प्रष्ट पार्नुपर्ने बताएका हुन् ।
पूर्वप्रधानमन्त्री डा. भट्टराई भन्छन्– ‘अखण्ड भारत’ नक्साको उद्देश्यबारे भारतले स्पष्ट पार्नुपर्छ
भारतले नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सा राखेको छ । उक्त नक्सामा नेपाल र पाकिस्तानका भू–भागसमेत उल्लेख छ । नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु तथा भारतबाट छुटेर बनेको पाकिस्तानको तक्षशिलालाई समेटिएको छ ।
अखण्ड भारतको विवादास्पद नक्साले नेपाललगायत छिमेकमा अनावश्यक कूटनीतिक विवाद निम्ताउन सक्ने पूर्वप्रधानमन्त्री डा. भट्टराईको भनाइ छ । उनले निकटतम छिमेकीहरूबीचको द्विपक्षीय सम्बन्धलाई बिगार्ने र अविश्वास बढाउने भन्दै भारतीय नेतृत्वले नक्साको वास्तविक अभिप्रायलाई समयमै जानकारी दिनु बुद्धिमानी हुने बताएका छन् ।