
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले मलेसियाविरुद्धको तेस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल २७ रनले जितेको छ । जितसँगै नेपालले पाँच खेलको सिरिजमा दुई-एकको अग्रता लिएको छ ।
युकेयम ओभलमा घरेलु टोली मलेसियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ११० रन बनायो । पहिलो विकेटका रुपमा नेपालले कविता कुँवरलाई मात्र २ रनमा गुमाएको थियो । दोस्रो विकेटका लागि ज्योति पाण्डेले सीता राना मगरसँग ३५ रनको साझेदारी निभाउँदै आउट भइन् । उनले २३ रन जोडिन् ।
तेस्रो विकेटका लागि सीता र इन्दु बर्माबीच ३२ रनको साझेदारी भयो । सीता २१ रनमा आउट भएपछि साझेदारी तोडिएको थियो । इन्दुले २० रन बनाइन् । कप्तान रुबिना क्षेत्री १५ बलमा २७ रन जोड्दै आउट भइन् । उनले तीन चौका र एक छक्का हिर्काएकी थिइन् ।
कविता जोशी एक र विन्दु रावल तीन रनमा अविजित रहे ।
निक नुरले सर्वाधिक २ विकेट हात पारिन् । १११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ८३ रन मात्र बनाउन सक्यो । घरेलु टोलीका लागि महिराह इजाती स्माइलीले अविजित ४४ रनको पारी खेले पनि जित दिलाउन सकिनन् ।
ओपनर वेलफ्रेड दुरइसिंगमले २० रन जोड्दा बाँकी ब्याटरको प्रदर्शन सन्तोषजनक रहेन । कविता, सीता र इन्दुले एक-एक विकेट लिए । जितसँगै नेपालले पाँच खेलको सिरिजमा दुई-एकको अग्रता बनाएको छ । पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा ७ विकेटको जित हात पारेको थियो ।